Monday, June 2, 2014

खरेललाई प्रमुखकै जिम्मेवारी दिन आयोगको निर्देशन

Thumbnail for 19060
nirwachan-aayog
काठमाडौं, १९ जेठ । निर्वाचन आयोगले वरिष्ठ प्रहरी उपरीक्षक रमेशप्रसाद खरेललाई महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखकै जिम्मेवारी दिन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले वरिष्ठ प्रहरी उपरीक्षक खरेललाई सरुवा गर्नका लागि यसअघि सरुवाका लागि सहमति माग भएकोमा आयोगले सहमति दिएको थिएन । आयोगले सहमति नदिए पनि वरिष्ठ प्रहरी उपरीक्षक खरेललाई प्रहरी प्रधान कार्यालयमा झिकाई निजको कार्यभार अर्कै व्यक्तिलाई तोकिएको भन्ने जानकारी विभिन्न माध्यमबाट प्राप्त भएपछि आयोगले थप निर्णय गरेको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आयोगको निर्णयानुसार ‘‘यदि निर्वाचनको अवधिमा निजलाई महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको कार्यभारबाट मुक्त हुने गरी अर्कै व्यक्तिलाई कार्यभार दिएको हो भने निज वरिष्ठ प्रहरी उपरीक्षक खरेललाई निजको पदाधिकार रहेको कार्यालयमा यथावत् जिम्मेवारी दिई कामकाज गराउनु हुन” भनी गृह मन्त्रालयलाई निर्देशन दिइएको स्पष्ट पारिएको छ ।
उपनिर्वाचनमा ‘नो भोट’को व्यवस्था हुदैन
निर्वाचन आयोगका प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले असार ८ मा हुने संविधानसभा सदस्य उपनिर्वाचनमा मत अस्वीकार गर्ने (नो भोट) को व्यवस्था नहुने बताउनुभएको छ ।

प्रमुख आयुक्त उप्रेतीले सर्वोच्च अदालतले स्थानीय निकाय निर्वाचन, व्यवस्थापिका–संसद्को निर्वाचनमा कानुनी व्यवस्था गरेर मत अस्वीकार गर्ने अधिकारलाई सुरक्षित गर्न भनेकाले उपनिर्वाचनमा त्यसको व्यवस्था नहुने स्पष्ट पार्नुभयो ।
आयोगको निर्वाचन शिक्षा तथा सूचना केन्द्रमा आज आयोजित उपनिर्वाचनमा सहभागी हुने राष्ट्रिय पर्यवेक्षक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त उप्रेतीले सो कुरा बताउनु भएको हो ।
आयुक्त डा.रामभक्त पी.वी. ठाकुरले उपनिर्वाचनमा ११ वटा राष्ट्रिय पर्यवेक्षक संस्थाले निर्वाचन पर्यवेक्षण गर्ने जानकारी दिनुभयो ।

राष्ट्रपतिको अभिव्यक्ति प्रति ज्ञवालीको आपत्ति

Thumbnail for 19063
काठमाडौं १९ जेठ । नेकपा एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले सातबुँदे सहमतिविरुद्ध राष्ट्रपति डा रामवरण यादवले सार्वजनिकरुपमा अभिव्यक्ति दिएर राजनीति गर्न खोजेको आरोप लगाउनुभएको छ ।
सोमबार यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सरकार गठनका बेला नेपाली काँग्रेस र एमालेबीच भएको साँतबुदे सहमतिविरुद्ध राष्ट्रपति डा यादवले दिनुभएको अभिव्यक्ति आपत्तिजनक भएको बताउनुभयो ।
उहाँले पार्टीको आगामी नेतृत्वका लागि वरिष्ठ नेता माधवकुमार नेपालले उम्मेदवारी फिर्ता लिने र संसदीय दलका नेता केपी ओलीलाई नै पार्टीको अध्यक्षमा सर्वसम्मत चयन गरिने उल्लेख गर्नुभयो 
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले काँग्रेस र एमालेले सातबुँदे सहमति गरेर गल्ती गरेको बताउनुभयो । राष्ट्रपतिले संविधानको प्रतिकुल गरिएको सो सहमतिको विरोध गर्नु स्वभाविक भएको भन्दै अभिभावकको रुपमा राष्ट्रपतिले छिटो संविधान लेख्न घच्घच्याएको उहाँको धारणा रहेको थियो ।