Saturday, March 5, 2016

पुनःसञ्चालन हुने भो जिरी विमानस्थल

मिडिया एनपी, दोलखा, २१ फागुुन । ३ वर्षदेखि बन्द रहेको जिरीमा रहेको विमानस्थल पुनःसञ्चालनमा ल्याइने भएको छ । २०४२ देखि बन्द रहेको सो विमानस्थल पुनः सञ्चालनमा ल्याउनका लागि नेपाल उड्डयन प्राधिकरणका निर्देशक धु्रवदास योक्षिमयो, वरिष्ठ अधिवक्ता योगेन्द्रराज शर्म र दोलखा क्षेत्र नं १ का सभासद् पार्वत गुरुङले निरीक्षण गरेका छन् ।
नेपाल उड्डयन प्राधिकरणले विमानस्थल पुनः सञ्चालनमा ल्याउन कम्तीमा तीन महिना समय लाग्ने जनाएको छ । जिरीको पर्यटकीय पृष्ठभूमिलाई केलाउँदै विमानस्थल पुनः सञ्चालनमा जति सक्दो चाँडो काम गर्न प्राधिकरणका पदाधिकारीलाई आग्रह गरिएको छ ।
विमानस्थल निर्माणको लागि आर्थिक अभाव रहेको बताउदै प्राधिकरणले विमानस्थल निर्माणको काम पहिलो प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ ।

Monday, August 11, 2014

श्रीकृष्णको त्यो अधुरो सपना

काठमाडौं,साउन२५–बिबाहको केही दिनपछि नै हनिमुनका लागि भारततर्फ प्रस्थान गर्नुअघि श्रीकृष्ण श्रेष्ठले सञ्चारकर्मीहरुको ‘सन्तान कहिले जन्माउने ?’भन्ने प्रश्नको जवाफमा भनेका थिए,‘तत्काल हाम्रो त्यस्तो सन्तान जन्माउने इच्छा छैन । दुई वर्षपछि मात्रै हामीले सन्तान जन्माउने योजना बनाएका छौं ।’ श्रीकृष्णले यस्तो जवाफ दिइँरहँदा छेवैमा उभिएकी उनकी श्रीमती नायिका श्वेता खड्काले पनि केही लजाउँदै मुस्काएर श्रीकृष्णको योजनामा मुन्टो हल्लाएर समर्थन जनाएकी थिइन् । तर,श्रीकृष्णको यो सुन्दर योजना अब कहिल्यै पुरा हुने छैन । बिबाह भएको एक महिनामै स्वेताको सिउँदो पुछिएपछि नवजोडीले देखेको यो सुन्दर सपना केवल कहिल्यै पुरा नहुने कित्तामा उभिएको छ । श्रीकृष्णले निर्माण गरेको शुक्रबारदेखि प्रदर्शनमा रहेको फिल्म ‘कोहिनुर’को रिजिलको पुर्वसन्ध्यामा श्रीकृष्णले निकै नै भावुक सन्देश पठाउँदै भनेका थिए–मेरो स्वास्थ्यको कारण तपाईहरुसँगै बसेर फिल्म रिजिल गर्ने सपना पुरा हुन सकेन । म रिजिल भएको केही दिनपछि नै निको भएर तपाईहरुसँगै बसेर फिल्म हेर्नेगरी आउनेछु । कृपया मैले निर्माण गरेको यो फिल्मलाई माया गरिदिनुहोला । तपाईहरुको माया मेरा लागि औषधि हुनेछ ।’ निको भएर दर्शकसँगै बसेर आफ्नो फिल्म हेर्ने सपना रहेको जानकारी केही दिनअघि मात्रै बुनेका श्रीकृष्णको प्रतिक्षामा रहेका उनका सुभेच्छुक,दर्शक र फ्यानहरुले आइतबारको सुरुवातसँगै उनको मृत्युको दुःखद समाचार सुन्नु परेको छ । श्रीकृष्णको यो दुःखद अबसानसँगै त्यो सपना कहिल्यै पुरा नहुने भएको छ । नायक श्रीकृष्णसँग नेपाली फिल्ममा अझै धेरै योगदान दिने र यसलाई अझै अब्बल बनाउने सपना थिए । उनले बेला–बेला उनका योजना सुनाउँदै आएका पनि थिए । उनले भन्ने गरेका थिए–नेपाली फिल्मलाई अन्तराष्ट्रिय स्तरमा पुगेको हेर्ने चाहना छ । र,त्यसका लागि जीवनको अन्तिम घडिसम्म पनि लागिरहनेछु । हुन पनि,जीवनको अन्तिम स्वास पनि उनले फिल्मकै नाम लिएर फेरे । जीवनको अन्तिम घडिमा उनले आमदर्शकका लागि पठाएको सन्देशमा उनको यो भावना अझै गम्भिर ढंगले मुखरित थियो । श्वेतामाथि बज्र ‘मान्छेको जीवनमा आरोह र अबरोह भइरहन्छ । सुख र दुःख नै जीवनको चौतारी हो भन्छन् । म त्यही चौतारीमा बसिरा छु’ केही दिन अघि यस्तो भावुक सन्देश पठाएका श्रीकृष्णले परिभाषित गरेको यही भयानक पीडा,वेदना,सन्ताप र दुःख दिएर उनले संसार छाडेका छन् । एक महिनाअघि असार २३ गते मात्र श्वेताको सिउँदो रंगाएका श्रीकृष्णले संसार छाडेपछि श्वेताको जीवनको बिहानी कहिल्यै नउदाउने गरी अन्धकार रातमा परिणत भएको छ । जीवनमासँगै यात्रा गर्ने त्यो सुन्दर सपनामा तुसारापात लागेको छ । जीवनको लामो समय नेपाली फिल्म जगतको विकास र संबृद्धिमा खर्चेका सदाबहार नायक श्रीकृष्णप्रति हाम्रो श्रदान्जली ! अनि शोकसन्तप्त परिवारमा यो दुःखको घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस !

Sunday, August 10, 2014

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको छ । विवाह लगत्तै उपचारको शिलशिलामा दिल्लीमा रहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको छ ।

 

डीप निमोनियासँगै फोक्सोमा पानी जमेका कारण केही महिना यता बिरामी परेका श्रीको गए राती निधन भएको हो । श्रीले निर्माण गरेको अभिनय गरेको नेपाली चलचित्र कोहिनुर अहिले देशभर प्रदर्श भईरहेको थियो  ।  श्रेष्ठले असार २६ गते अभिनेत्री स्वेता खड्कासँग विवाह गरेका थिए । विवाहपछि उनीहरु हनिमुन मनाउन भारत गएका थिए

Wednesday, August 6, 2014

यसरी मारिए डन 'चरी'

काठमाडौं: प्रहरीसँगको दोहोरो भिडन्तमा गुण्डाका नाइके दिनेश अधिकारी उर्फ 'चरी' मारिएका छन्। लामो समयदेखि प्रहरी खोजीको सूचीमा रहेका चरी राजधानीको सीतापाइलाबाट पश्चिमतर्फ साढे छ किलोमिटर टाढा भीमढुंगा भञ्याङमा प्रहरीको गोलीबाट मारिएका हुन्।
एमाले निकट चरी एमाले धादिङ क्षेत्र नम्बर १ का पूर्व उपाध्यक्ष समेत थिए। लामो समय भारतमा लुकेर बसेका चरी केही दिन अगाडी काठमाडौं आएका थिए। स्रोतका अनुसार काठमाडौं प्रवेश गरेपछि पनि चरीले केही व्यापारीलाई फोनमा धम्क्याउँदै आएका थिए।
धादिङकै राधे भन्ने राधाकृष्ण भण्डारीलाई खुकरी प्रहार गरेको घटनामा फरार रहेका चरीलाई प्रहरीले खोजी गरिरहेको थियो। राजधानी छिर्ने नाका थानकोट र फर्पिङमा प्रहरीले क्लोज सर्किट सीसीटीभी राखेपछि चरी काठमाडौंमा लुकेर बसेका थिए। चरी काठमाडौं छिरेको सुचना पाएपछि महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार सीतापाइला, कलंकी, धापासी र महाराजगंज क्षेत्रमा प्रहरी टोली परिचालित गरेको थियो।
चरी हतियार सहित हिडिंरहेको सुचना पाएपछि महाशाखाकी डिएसपी मिरा चौधरीको कमाण्ड सीतापाईला क्षेत्रमा खटिएकी थिईन्। सीतापाईलामा बा ४९ प ३११२ नम्बरको रातो पल्सर मोटरसाइकलमा संकित व्यक्ति हुइँकिदै गएको देखेपछि प्रहरीले उसको पिछा गरेको थियो। भीमढुंगा पुगेपछि एक्कासी प्रहरीमाथि गोली चलाउन सुरू गरेपछि प्रहरीले जवाफी फायरिङ (क्रस फायर) गरको थियो। प्रहरीको गोली लागि ढलेपछि प्रहरीले व्यक्ति पहिचान गर्दा चरी रहेको खुलेपछि मात्रै यो सुचना केन्द्रसम्म पुगेको थियो।
घटनास्थलमा महाशाखा प्रमुख एसएसपी पुष्कर कार्की र हनुमानढोका प्रहरी प्रमुख एसएसपी उत्तम कार्की सहितको टोली पुगेको थियो। महाशाखा प्रमुख कार्कीका अनुसार चरी कपला मुडुलो पोर हुलिया परिवर्तन गरेर हिंडेका थिए। प्रहरीले घटना स्थलबाट मेड ईन युएसए लेखिएको पेस्तोल, त्यसमा लाग्ने एक राउण्ड गोली र पाँच राउण्ड गोलीका खोका बरामद गरेको छ। ' प्रहरीमाथि गोली प्रहार भएपछि मात्रै प्रहरीले गोली प्रहार गरेको हो, कार्कीले भने। प्रहरीले प्रहार गरेको गोली पेट र छातीमा लागेको छ।
एसएसपी कार्कीका अनुसार चरीले प्रहरीमाथि सात राउण्ड गोली फायर गरेका थिए भने प्रहरीले जवाफी फायरिङमा आठ राउण्ड गोली प्रहार गरेको थियो। प्रहरीले चरीको शव नजिकैबाट मेड ईन युएसए लेखिएको पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली र पाँच राउण्ड गोलीका खोका बरामद गरेको छ। उच्च स्रोतका अनुसार चरी केही दिनमै अदालतमा आत्मसमर्पण गर्ने योजनामा थिए। प्रहरीले चरीको शव पोष्टमार्टको लागि महाराजगंज स्थित त्रिभुवन शिक्षण अस्पतालमा राखेको छ। ' प्रहरीको क्रस फायरमा चरीमा मारिएका हुन्, थप अनुसन्धान गर्दै छौं,
तत्कालीन काठमाडौं सुरक्षा प्रमुख एसएसपी रमेश खरेलले काठमाडौंमा ' गुण्डा अप्रेशन' चलाउँदा गणेश लामा, अभिषेक गिरी, दिपक मनांगे लगायतका गुण्डाहरू पक्राउ गर्दा चरी पक्राउ गर्न दबाब थियो। ठेक्कापट्टा, गुण्डागर्दी, व्यवसायीलाई धम्याएर चन्दा असुली लगायतका आपराधिक गतिविधिमा संलग्न चरी राजधानीको नयाँबजार एरियालाई आधारईलाका बनाएर अपराधकर्म गर्दै आएका थिए। चरी प्रहरीको निशानामा जति बेला थिए त्यतिवेला
महाशाखा प्रमुख एसएसपी कार्कीले पहिलो पटक महाशाखामा गरेको पत्रकार सम्मेलनमा भनेका थिए ' केही गुण्डा हतियार सहित हिड्छन् भन्ने जानकारी आएका छन्, मेरा अफिसर्स सँग पनि हतियार हुन्छन् नै, गुण्डागर्दी नियन्त्रणका लागि कानुनको दायरमा वसेर प्रहरीले हतियार चलाउन कन्जुस्याइँ गर्दैन।'
चरीमाथि यस अघि पनि प्रहारको प्रयास भएको थियो। धादिङमा प्रेस चौतारीको कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कने क्रममा चरीमाथि गत वर्ष असार २१ गते सतुंगलमा गोली प्रहार भएको थियो। उनीमाथि गोली प्रहार गर्ने राधे भन्ने राधाकृष्ण भण्डारीलाई प्रहरले पक्राउ गरि कारबाही गरिसकेको छ। त्यसैको बदला लिन चरी समुहले भण्डारीमाथि नयाँ बजारमा खुकुरी प्रहार गरेको थियो।

साउदीमा मृत्युदण्ड दिइएकी तनहुँ भिमादस्थित शोभाको कथा


साउदीमा मृत्युदण्ड दिइएकी शोभाको कथा
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
पतिसँगको सम्बन्ध खासै राम्रो थिएन। छोरा पनि अपांग जन्मियो। तनहुँ भिमादस्थित हिमालय उच्च माविमा प्लस टु पढेकी शोभा परियारलाई जीविका चलाउनै गाह्रो हुन थाल्यो। जीवनमा दुःखैदुःख भोगेकी उनले आफ्नै कमाइले परिवारमा सुख ल्याउने आशामा साउदी अरब जाने सोच बनाइन्। दुलेगौँडाका एजेन्ट कबिर वाक्स मियाँलाई रकम बुझाइन् र मुम्बई हुँदै तीन वर्षअघि पुगिन् अरब।
६० वर्ष पार गरेका बाबु भीमबहादुर र आमा बुद्धिसरालाई उनले साउदी जान लागेको बारे सुइँकोसमेत दिएकी थिइनन्। दलालले नै परिवारलाई 'जानकारी नदिनू है' भनेको हुनसक्छ।
तर विदेशको जीवन त्यति सजिलो भएन। यता श्रीमानले पनि दोस्रो विवाह गरे। उता उनले काम गर्ने ठाउँमा यातना खप्न सकिनन्।
गएको वर्ष साउन २ गते घरमा फोन गरी उनले भनिन्, 'मालिक र मालिक्नीले साह्रै यातना दिए। म यहाँ बस्नै सकिनँ। लौ न मलाई फर्काइदिनु पर्‍यो।'
वृद्धावस्थाका आमाबाबु चिन्तित भए। शोभालाई साउदी पठाउने एजेन्टसँग सल्लाह गरे। १९ हजार रुपियाँ माग्यो उसले। छोरीको ज्यानभन्दा पैसा ठूलो हैन। ऋणपान गरेर १९ हजार जोहो गरेर बुझाए।
तर छोरी फर्किनन्। गत वर्ष चैतमा अचानक शोभाले घरमा फोन गरेर भनिन्, 'घर मालिकका दुई वर्षको छोरो मेरो हातबाट मर्न पुग्यो। तर धन्दा नमान्नुस्, अहिले म जेलमा भए पनि साहुले वैशाखसम्म नेपाल फर्काइदिन्छु भनेर औँठाछापसहितको कागजात बनाइसके।'
बाबुआमाले शोभालाई फर्काउन बुझाएको १९ हजार रुपियाँ बुझेको एजेन्ट मियाँलाई खोज्न थाले। तर मियाँ पनि गैरकानुनी रुपमा महिलालाई साउदी पठाउन खोजेको आरोपमा भैरहवाको जेलमा रहेछन्। 'म नै जेलमा छु, के गर्न सक्छु र' भनेपछि उनीहरु रुँदै घर फर्किए।
शोभाले फोनमा मृत्युदण्डबारे केही बताएकी थिइनन्। तर पत्रपत्रिकामा मृत्युदण्ड हुनसक्ने भन्दै समाचार आएपछि आमाबाबु दिनरात आँसुमा डुबे।
त्यसो भए पनि छोरीले म अब छिट्टै फर्कन्छु भनेकीले एउटा सानो आशा थियो। उनको जीवन रक्षा गर्न परिवारले राष्ट्रपति रामवरण यादवलाई सम्म गुहारे।
तर, अब जिउँदी शोभा मात्र हैन, लाश समेत नेपाल आउने स्थिति छैन। सोमबार साउदीको अररा जिल्लामा बिहान साढे १० बजे शिरछेदन गरेर उनलाई मृत्युदण्ड दिइयो। विक्षत उनको शवलाई नेपाल नपठाइ त्यहीँको परम्परा अनुसार गाडिएको छ।
नेपाली दूतावासका अनुसार शोभालाई मृत्युदण्डबाट बचाउन सक्दो प्रयास गरिएको हो। आफूमाथि भएको अत्याचारका कारण आवेशमा आउँदा यो घटना भएको जिकिर गर्दै सजाय कम गराउन र त्यहीँको कानुन अनुसार 'ब्लडमनी' लिन नेपाली दूतावासले गभर्नर तहसम्म प्रयास गर्‍यो।
तर मृतक बालकको परिवारले मानेन। तल्लो अदालतले गरेको फैसलालाई पुनरावेदन र सर्वोच्चले पनि सदर गरेपछि राजाको आदेशमा उनलाई मृत्युदण्ड दिइएको हो।
स्थानीय बालज्योति प्राविमा ५ कक्षामा अध्ययनरत शोभाका १२ वर्षका छोरा दिवसको जन्मजात ओठ फाटेको थियो। शल्यक्रियापछि ओठ पुरिएको छ तर आवाज स्पष्ट छैन।
अस्पष्ट आवाजमा उनले केही अघि पत्रकारहरुलाई भनेका थिए, ‘ममीले अस्ति फोनमा वैशाख अन्तिममा आउँछु भन्नुभएको छ। घर आउँदा साइकल ल्याइदिन भनेको छु।‘
उनलाई थाहा छैन, अब साइकल आउने छैन, न त उनकी ममी नै आउने छिन्। उनकी ममीको जीवन साइकलको चेन चुँडिसकेको छ।
- पहिलोपोस्टबाट

Tuesday, August 5, 2014

भारतीय प्रधानमन्त्री मोदी स्वदेश प्रस्थान कोइरालालाई भारत भ्रमणको निम्तो

narendra modi
काठमाडौं, श्रावण १९ - दुई दिने भ्रमण पूरा गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार साँझ स्वदेश प्रस्थान गरेका छन् ।
७५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका भारतीय प्रधानमन्त्री मोदी साँझ ५ बजेर ५३ मिनेटमा स्वदेश फर्केका हुन् । मोदीलाई त्रिभूवन विमानस्थलमा प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाललगायतले बिदाइ गरे ।
मोदी स्वदेश र्फकनेबेला बौद्धस्थित होटल हृयातबाट चाबहिल, गौशाला, सिनामंगल हुँदै तीनकुनेसम्म सवारी रोकिएको थियो । करिव डेढ घण्टा त्रिभूवन विमानस्थलबाट कुनै पनि जहाज आउजाउ भएनन् ।
मोदी स्वदेश र्फकनुअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दीनले होटल हृयातमा पत्रकार सम्मेलन गरी भ्रमण सफल भएको बताए । उनले आइतबार संसदमा व्यक्त भारतीय प्रधानमन्त्री मोदीका विचार स्पष्ट रहेको बताउँदै उनले दलका नेताहरुसँगको भेटमा पनि संविधान लेखनका लागि प्रेरित गरेको बताए ।

कोइरालालाई भारत भ्रमणको निम्तो
दुई दिने नेपाल भ्रमण सकाएर स्वदेश फर्किने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी सुशील कोइरालाई भारत भ्रमणको निम्तो दिएका छन् ।
मोदीको निम्तोलाई प्रधानमन्त्री सुशील कोइरालाले स्वीकारेको र आपसी समझदारीमा भ्रमणको मिति तय गरिने मोदीको नेपाल भ्रमणबारे जारी गरिएको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।
भारतीय प्रधानमन्त्री मोदीले आफू आउनु अघिल्लो दिन सिन्धुपाल्चोकको माङ्खा गाविसमा भएको पहिरोले भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । दुवै देशबीच यस्ता प्राकृतिक विपत्तिको सामना गर्न एक अर्कालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको विज्ञप्तीमा जनाइएको छ ।
मोदी भ्रमणको क्रममा नेपाली पक्षले नेपाल-भारत व्यापारमा नेपालले घाटा व्यहोर्दै आएकाले केही तरकारी, पस्मिनालगायत वस्तुमा कर छुट दिन आग्रह गरेको थिया । नेपालले जलविद्युत उत्पादन गरी भारतलाई बेचेर व्यापार घाटा कम गर्न सुझाएको विज्ञप्तीमा उल्लेख छ ।
मोदी भ्रमणको क्रममा पूर्वसहमति अनुसार ५ स्थानमा क्रस बोर्डर रेलमार्गको कामलाई तीव्रता दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिने र दुई देशबीच हुने व्यापारलाई संयोजन गर्न संयुक्त चेकपोष्ट स्थापनाको काम अघि बढाउने सहमति भएको छ ।
नेपाली पक्षको आग्रह अनुसार भारतले रक्सौल-अमलेखगञ्ज पाइपलाइन बिछ्याउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । दोस्रो चरणमा पाइप लाइनलाई काठमाडौंसम्म ल्याउने सहमति भएको विज्ञप्तीमा जनाइएको छ ।
दुई देशबीच हुलाकी राजमार्गको कामलाई तीब्रता दिएर एक बर्षभित्र दोस्रो चरणको काम थाल्ने सहमति भएको छ । नेपाल सरकारले गर्ने दोस्रो चरणको काममा भारतले आर्थिक सहयोग गर्ने विज्ञप्तीमा जनाइएको छ । भारतीय प्रधानमन्त्रीले भारतको सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाको कामलाई तीब्रता दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् ।
सरकारले मध्य पहाडी राजमार्गको निर्माणको लागि भारतलाई आग्रह गरेको छ । नेपाल सरकारको आग्रहलाई भारतीय पक्षले सकारात्मक रुपमा लिएको विज्ञप्तीमा भनिएको छ ।
भारतले महाकाली नदिमा सवारी साधन आवतजावतको लागि पुल बनाउन सहयोग गर्ने आश्वासन दिएको छ । महाकालीमा पुल बने नेपालको सदुर पश्चिम र भारतको उत्तर प्रदेश, दिल्ली र उत्तरखण्ड आवतजावतमा सजिलो हुनेछ ।
दुईदेश बीच माथिल्लो कणर्ालीको परियोजना विकास सम्झौता -पीडीए) र ऊर्जा विकास सम्झौता -पीटीए) ४५ दिनभित्र गर्ने सम्झौता भएको छ । त्यसै अनुसारको तयारी अघि बढाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिइएको छ । दुवै देशले अरुण तेस्रो, माथिल्लो मर्स्याङ्दी र तामाकोसी तेस्रोको लागि पनि परियोजना विकास सम्झौता गर्ने इच्छाएको विज्ञप्तीमा भनिएको छ ।
दुवै देशबीच पञ्चेश्वर परियोजना एक बर्षभित्र सुरु गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । दुई देशको प्रधानमन्त्रीको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा ६ महिनाभित्र परियोजनाको लागि पदाधिकारी नियुक्त गर्ने र एक बर्षभित्र योजना कार्यान्वयन गर्ने उल्लेख छ ।
भारतले नेपाल-भारत मैत्री शिक्षा अन्तर्गत विद्यार्थीलाई भारतको विभिन्न विश्वविद्यालयमा दिंइदै आएको छात्रवृत्ति कोटा १८० बाट २५० पुर्‍याइने बताइएको छ ।
नेपाल-भारतबीच बुद्ध सर्किट स्थापनाको लागि नेपाल सरकारको प्रस्ताव अनुसार सहयोग गर्न भारतले प्रतिबद्धता जनाएको छ । साथै, उसले जनकपुर, बराहक्षेत्र र लुम्बिनी विकासको लागि सघाउने आश्वासन दिएको छ ।
भ्रमणको अन्तिम दिन पशुपति मन्दिर दर्शनका लागि पुगेका मोदीले पशुपति बृद्धाश्रमको स्तरोउन्नति र पशुपति क्षेत्रकेा संरक्षणको लागि समेत सहयोगको प्रतिबद्धता जनाएका छन् ।
दुई देशबीच सीमास्तम्भ र दशगजा क्षेत्रमा रहेको विवाद समाधान गर्ने सहमति भएको छ । दुई देशको संयुक्त आयोगको वैठकले निर्णय गरे अनुसार कालापानी र सुस्ताको सीमा विवाद समाधानको लागि काम गर्ने सहमति भएको छ ।

नेपाल-भारतबीचको सन् १९५० को सन्धी पुनरावलोकन गर्ने विषयमा समेत दुई देशबीच सहमति भएको जारी संयुक्त विज्ञप्तीमा उल्लेख छ । यसअघि दुवै देशको विदेश मन्त्रीको नेतृत्वमा बसेको संयुक्त आयोगको वैठकले नेपालले भारतलाई पुनरावलोकन मस्यौदा पठाउने सहमति गरेको थियो ।

साउदीमा नेपाली महिलालाई मृत्युदण्ड दिइयो परिवारले शव पनि नपाउने

१९ साउन, काठमाडौं । साउदी अरेबिया सरकारले एक नेपाली महिलालाई सोमबार मृत्युदण्ड दिएको छ । साउदी प्रेस एजेन्सीका अनुसार एक दुईवर्षे नावालकको हत्या अभियोगमा मृत्युदण्ड दिइएकी ती महिला घरेलु कामदारका रुपमा साउदीमा कार्यरत थिइन् ।
साउदी अरेबियाको गृहमन्त्रालयले मृत्युदण्ड पाउने नेपाली महिला शोभा परियार रहेको बताएको छ ।
Hanging
मृत्युदण्ड दिइएकी ती महिलाले आफ्नो अपराध स्वीकार गरेको र जनरल कोर्टले पनि मृत्युदण्डको फैसला दिएको मन्त्रालयले जनाएको छ । मृत्युदण्डको फैसलालाई पुनरावेदन अदालत र सर्वोच्च अदालतले समेत अनुमोदन गरेको त्यहाँको मन्त्रालयलाई उधृत गर्दै समाचारमा जनाइएको छ ।
धेरै कोसिस गर्दा पनि बचाउन सकिएनः राजदूत
साउदी अरेबियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले आफूले निकै कोसिस गर्दा पनि उनलाई मृत्युदण्डबाट बचाउन नसकिएको बताए ।
‘मृत्युदण्ड दिइयो भन्ने सुन्दा निकै दुःख लाग्यो’ राजदूत पाण्डेले टेलिफोनमा अनलाइनखबरसँग भने-’मैले डेढ बर्ष पहिलेदेखि नै उनलाई बचाउन साउदी अधिकारीसँग लविङ गरिरहेको थिएँ ।’
करिव डेढ बर्ष पहिले नावालक हत्या अभियोगमा थुनिएकी नेपाली महिलाबारे जानकारी पाएपछि आफूले उनलाई बचाउन कोसिस गरेको राजदूत पाण्डेले बताए ।
‘मैले उनको बयान हेरेँ, उनीहरुसँगै गएर पनि कुरा गर्‍यौं, उनले साहुनीले दुव्र्यवहार गरेका कारण आवेशमा आएर छोरालाई बाथरुममा लगेर छुरा हानेको स्वीकारेकी थिइन् ।’ राजदूत पाण्डेले भने ।
आफूले आवेशमा आई हत्या गरेको र मनशायप्रेरित हत्या नभएको भन्दै मृत्युदण्डबाट जोगाउन र पीडित परिवारलाई कन्भिन्स गरिदिन आफूले त्यहाँको गर्भनरलाई भेटेर आग्रहसमेत गरेको राजदूत पाण्डेले बताए । आवेशमा भएको घटनालाई फौजदारी कानूनले हत्या मान्दैन ।
‘गर्भनरले कोसिस पनि गरेका हुन् तर, मृतकको परिवार निकै क्रुद्ध थियो,’ राजदूत पाण्डेले भने । यसबारे आफूले निकै पहिले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको र उनको परिवारसँग पनि सम्पर्क गरेको पाण्डेले जानकारी दिए ।
तनहुँ भिमादकी शोभा दलालमार्फत् भारतीय मार्ग हुँदै साउदी पुगेकी थिइन् । ‘एसएलसीसम्म अध्ययन गरेकी थिइन, दाम्पत्य जीवन राम्रो नभएपछि साउदी आएकी हुँ भनेकी थिइन’ राजदूत पाण्डेले भने ।
उनकी दिदी र भाईले नेपालबाट बेलाबेला फोन गरेर उनलाई बचाउन आग्रह गरेको राजदूत पाण्डेले बताए । पिडीत परिवारले माफी नदिएपछि शोभा मृत्युदण्डको मुखबाट जोगाउन नसकिएको उनले बताए ।
शोभाको शवलाई साउदी अधिकारीले नै ब्यबस्थापन गर्ने उनले बताए । ‘हामीलाई यसबारे औपचारिक जानकारी आउन अझै ७-८ दिन लाग्छ होला’ उनको शव नेपाल ल्याउन पनि पाइदैन, उनको परिवारले कुनै क्षतिपूर्ति पाउने सम्भावना पनि छैन् ।’ राजदूत पाण्डेले भने