Sunday, April 21, 2013

साउदी जेलमा एसी बिग्रिएपछि तनाव

 वैशाख ६ - साउदी अरबको दमामस्थित जेलमा एसी बिग्रिएपछि घर फिर्न बल्लबल्ल जेल छिर्न पाएका नेपाली कामदारहरू समस्यामा परेका छन् । यसले जेल प्रशासनलाई समेत चिन्तित बनाएको छ । झन्डै दुई सय जना अट्ने क्षमताको जेलमा बुधबारसम्म ७ सय नेपाली छन् ।

गैरकानुनी हैसियत भएका नेपाली घर फिर्न अनिवार्य जेल जानुपर्छ । 'हिजोबाट जेलको एसीको सिस्टम नै गएको रहेछ,' साउदीको लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, 'यसले तनाव बढेको छ ।' बिहीबार दिउँसो यहाँको तापक्रम ४३ डिग्री सेन्टिग्रेड पुगेको थियो । 'गर्मी निकै बढेको छ । एउटै कोठामा सयौं कामदार राखिएको छ,' उनले भने, 'यसले दिन कटाउनै मुस्किल परेको छ ।' 

समाधानका लागि जेल प्रशासनले राजदूत पाण्डेसूग छलफलसमेत गरेको छ । राजदूतले कामदारलाई बाहिर निकालेर घर फिर्ने वातावरण मिलाउन अनुरोध गरेका छन् । त्यसका लागि दूतावासको प्रतिनिधिलाई जेलमा पठाइएको छ । 'साथीभाइ भएकालाई घर फिर्ने प्रक्रियालाई निरन्तरता दिई जेलबाट निकाल्न अनुरोध गरिएको छ,' उनले भने, 'सबै प्रक्रिया पूरा भएपछि बिहान जेल राखेर साँझ पठाउने विषयमा छलफल भइरहेको छ ।' 

एसी बिगि्रएपछि जेलभित्र होहल्ला सुरु भएको छ । 'सिस्टम' नै बिग्रेकाले मर्मत हुन केही दिन लाग्ने प्रशासनले जनाएको छ ।

गैरकानुनी कामदारको चाप निकै बढेको दमाम जेलबाट शुक्रबार मात्रै एकसय ७० जना स्वदेश फिर्दै छन् । 

No comments:

Post a Comment