Wednesday, May 21, 2014

विद्यालयको तालाबन्दी खुल्ने



निजी तथा आवासीय विद्यालयले कानुन विपरीत शुल्क वृद्धि गरेकोविरुद्ध आन्दोलनरत् विद्यार्थी सङ्गठनले विभिन्न विद्यालयमा गरेको तालाबन्दी खुलाउने भएको छ।

काठमाडौँ, ७ जेठ - निजी तथा आवासीय विद्यालयले कानुन विपरीत शुल्क वृद्धि गरेकोविरुद्ध आन्दोलनरत् विद्यार्थी सङ्गठनले विभिन्न विद्यालयमा गरेको तालाबन्दी खुलाउने भएको छ । करिब दुई हप्तादेखि विभिन्न विद्यालयका लेखा शाखामा गरिएको तालाबन्दी भोलिदेखि खुल्ने भएको हो ।

शिक्षा विभागमा आज विद्यालय सञ्चालक, आन्दोलनरत् विद्यार्थी सङ्गठन र अभिभावक सङ्घबीच भएको वार्तामा निजी विद्यालयले नियविपरित शुल्कवृद्धि गरेका विद्यालयले अर्को महिनाको मासिक शुल्कमा समायोजन गर्ने, नियमविपरीत सञ्चालित विद्यालयहरुमा जेठ महिनाभित्र अनुगमन गर्ने र कारबाहीको प्रक्रिया अगाडि बढाउनेलगायतका सहमति भएपछि सङ्गठनले तालाबन्दीलगायत आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।

वार्तामा सहभागी अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार मनपरीरुपमा शुल्कवृद्धि गर्ने विद्यालयहरुमा उच्चस्तरीय अनुगमन समितिले अनुगमन गर्ने, शुल्क पुनरावलोकनका लागि सिफारिस गर्नेलगायत विषयमा छलफल भई सहमति भएको जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment