तरकारी भित्र लुकाएर सेन्ट्रल जेलमा हतियार
२० वैशाख, काठमाण्डौ । केन्द्रीय कारागार -सेन्ट्रल जेल) मा रहेका सञ्चार उद्यमी युनिस अन्सारीमाथि गोली प्रहार भएको पेस्तोल कैदीले नै जेल भित्र लगेको खुलासा भएको छ । कारगारमै रहेको एक सुरक्षाकर्मीले कैदीले नै उक्त हतियार जेलभित्र लगेको रहस्य खोलेका हुन् ।स्रोतले दिएको जानकारी अनुसार कारागारका चौकीदार वीरबहादूर तामाङको सहयोगमा अन्सारीमाथि गोली प्रहार गरिएको पेस्तोल जेलभित्र पुर्याईएको हो । चौकीदार तामाङले जेलभित्र सञ्चालन गरेको क्यान्टिनको सामान खरिदका लागि बाहिर निस्कँदा अर्का कैदी अमर टण्डनमार्फत सो हतियार कारगार भित्र्याईएको स्रोतको दाबी छ । उक्त हतियार कालिमाटी तरकारी बजारबाट ल्याइएको खबर आजको राजधानी दैनिकले छापेको छ ।
जेलमा रहेका १ हजार १ सय कैदीलाई पुग्ने तरकारी खरिद गर्न जाँदा उनले तरकारीमै लुकाएर हतियार ल्याएका हुन् । तामाङले २०६७ फागुन २६ गते कालिमाटीबाट तरकारीसँगै ल्याएको पेस्तोल शौचालयमा लुकाएर राखेका थिए । अन्सारीलाई गोलीहान्ने मनमित सिंहले आफै हतियार ल्याउन सक्ने स्थिति नभएपछि उनले तामाङको सहयोग लिएका थिए । २०६७ माघ २५ मै अन्सारीको हत्या गर्न मनमित नेपाल आएपनि सेन्ट्रल जेलमा मेटल डिटेक्टरको प्रयोग भएपछि अन्सारीलाई भेट्न गएका उनले तामाङको प्रयोग गरेका थिए ।
स्रोतका अनुसार अन्सारीलाई बोलाउने चिट दिएपछि उनी शौचालयमा लुकाएको हतियार लिन गएका थिए । चौकीदारले ल्याएको सामान प्रहरीले चेकजाँच नगर्ने भएकाले जेलमा हतियार भित्रीएको बताईएको छ ।
सञ्चार उद्यमी अन्सारीमाथि आक्रमण भएपछि घटनाको छानविन गर्न गठित समितिले जेलभित्र पनि नक्कली भारतीय रुपैया र खैरो हेरोइनको कारोबार भईरहेकाले हत्याको प्रयास भएको बताईएको छ ।
No comments:
Post a Comment