“यो त मेरो झन्डै १०-१२ बर्ष अगाडिको स्कुलको दुश्मन पो हो त ! ल आज कहाँबाट यहाँ टुप्लुक्क आइपुग्यो?”
![]() |
| मेरो दिगाम |
यो फेसबुकले पनि कमाल नै गर्छ बा, कहिले जमानामा तीन-चार कक्षा पढ्दा देखिका साथीलाई पनि खोजी-खोजी छेउमै टुप्लुक्क ल्याएर राखिदिन्छ भन्या । यसले मान्छे जन्मेदेखि को-को कँहा-कँहा भेट्छन्? के-के गर्छन? भन्ने सबै तथ्यांक राख्या छ की क्या हो? अहिले हेर्नुस न, यो मेरो बच्चै देखिको दुश्मन, स्कुल पढ्दा छुट्टी भैसकेपछि जहिले उस्को र मेरो स्कुलको चौरमा फाइट पर्ने । आज यस्ले कहाँ बाट भेटाएर टुप्लुक्क छेउमै ल्याईपुर्याएछ र उ पनि उस्तै, दुश्मन हुँ भन्ने कुरा थाहा पाइ-पाइ पनि फ्रेन्ड रिक्वेस्ट पठाउने । मिल्ने भइदेको भए “दुश्मन” भनेर एड गरिदिन्थे । तर के गर्नु यो फेसबुकमा “एड एज अ फ्रेन्ड” मात्र राख्या छ, “एड एज अ एनेमी” भन्ने बटन राख्या छैन । अब बालाई पनि साथी, दाइलाई पनि साथी, बोसलाई पनि साथी, गर्दा गर्दा शत्रुलाई पनि साथी भनेर एड गर्नु पर्ने । यो त अति नै भो नि, होइन र?
आजकल त अचम्मै भैसक्यो, एक दिन बरु नुन नहालेको तरकारी खाँदा फरक नपर्ला तर दिनमा एक पटक फेसबुक चलाएन भने त राति सुत्ने बेलामा के नपुग्या के नपुग्या हुन्छ भन्या । कहिलेकाँही त निद्रै पर्दैन । यी फेसबुक र ट्वीटर त ठूलो नशा नै रैछन बा ! अझ पुगेन भनेर गूगलले पनि नयाँ सामाजिक संजाल निकाली सक्यो, गूगल प्लस, तपाइहरुले चलाउनु भो? यस्तै-यस्तै बनाएर यी दैवहरुले त आफुले प्रगति गरिहाले, अनि हामी जस्ता सोझा जनतालाई चाँही बिगारेरै छाड्ने भए । बिहानै फेसबुक, साझै फेसबुक, ससुरालीमा जाँदा ससुरालीमै फेसबुक भन्या जस्तै भैसक्यो । फेसबुक चलाउन पाएपछि काम गर्न के को मन लाग्थ्यो र? चलाउन पाएन् भने फेरि जड्यालाई जाड़को तलतल लाग्या जस्तो, पूरा दिमाग नै उतै तिर ।
आफ्नो पल्लो घरको छिमेकी दाइसँग भेट नभाको एक महिना भैसक्यो होला, तर त्यो सात समुन्द्र पारि अमेरिका, युरोपतिर बस्ने साथीहरुसंग दिनहु च्याट, त्यो पनि भिडियो हेर्दै । बाँकी जिन्दगी पनि यसै गरेर कम्पुटरमै बित्ला जस्तो छ । यी सामाजिक संजालहरुले गर्दा सामान्य मानिसले बुझ्ने गरेको इन्टरनेटको परिभाषालाई नै बदलिदिएको छ भन्दा फरक नपर्ला । यस्तो कम्प्युटरको भर्चुअल दुनियाँमा पनि कसैले बिश्वास गर्छ? बेकार समयको बर्बादी, भन्नेहरु पनि त्यहिँ फेसबुक चलाएर दिन बिताउन थालिसकेका छन् । अझ भन्नुपर्दा फेसबुक धेरै मानिसको दिनचर्या नै बनिसकेको छ । झन अहिले त हातमा मोबाइल र मोबाइलमा इन्टरनेट नभाको मान्छे त भेटाउनै गाह्रो भैसक्यो । होइन! कति मान्छेले यो फेसबुक चलाउदा रैछन भनेर गुगल ब्रोलाई सोधेको त, विश्वमा झन्डै ७५ करोडको हाराहारीमा मान्छेले चलाउने रैछन र नेपालमा पनि झन्डै १२ लाख पुगीसकेछ्न । अझ अचम्मको कुरा त कम्प्युटरमा बसेर फेसबुक चलाउने र मोबाइलमा चलाउनेको संख्या झन्डै झन्डै बराबर पुग्न लागिसकेको रहेछ ।
आजकल तपाइहरुले एउटा कुरा याद गर्नु भएको छ? हामीले चलाउने गरेका सामाजिक संजालहरुमा एउटा कुरा बढी नै देखिन थालेको छ नि, नेपली भाषाको बढ्दो प्रयोग । खोइ किन हो किन ! मेरो पनि फेसबुक, ट्विटरहरु पढ्ने बेलामा नेपालीमा लेखिएका पोस्टहरुमाथि पहिले नै आँखा जाने गरेको छ । हुन् सक्छ बच्चै देखि बोल्दै, सुन्दै आएको आफ्नो मातृभाषा भएर होला ! त्यसैले पनि होला नेपाली भाषामा व्यक्त गरिएका कति भावनाहरुमा छुट्टै मिठास पाइन्छ । नेपाली भाषामा केहि यस्ता मिठा शब्दहरु छन् जुन शब्दहरु अरु भाषामा भेटाउन गाह्रो पर्छ र जस्ले एउटा आफ्नैपनको आभाष पनि दिन्छ । बिदेशी गोराहरुले बनाएको अंग्रेजी साइटमा पनि आफ्नो नेपालीपनको अनुभव गर्दै चलाउन पाएपछि हामी नेपालीलाई अरु के नै चाहियो र? आफ्नै बारीको मुला खाए जस्तो ।
पहिले पहिले धेरैजसो साथीहरुले इंग्लिशमा आफ्ना स्ट्याटसहरु अपडेट गर्थे र कतिले त नेपालीमा लेख्नेहरुलाई घटिया जस्तो ठान्ने, नजानेर नलेख्या जस्तो । तर अहिले ठिक उल्टो हुदै गएको छ, नेपाली भाषामा लेख्नेहरुले नेपालीको मन बढी नै जित्दै गएको पाइन्छ । फेसबुकमा स्ट्याटस अपडेट गर्नु पनि एक प्रकारको कला नै हो, कस्ले धेरै लाइक र कमेन्ट पाउने भन्ने होडबाजी नै चलेको हुन्छ यँहा । मेरो अनुभवमा, एउटा साधारण व्यक्तिका लागि इंग्लिशमा लेख्नु भन्दा पनि नेपलीमा लेख्नु ठूलो चुनौती हुन्छ जस्तो लाग्छ । पहिलो कुरा त प्राविधिक समस्या - कसरि लेख्ने नेपालीमा? प्रिती, कान्तिपुर जस्ता नेपाली फन्टमा लेख्न नमिल्ने, युनिकोड नै चाहिने । र ति फन्ट मै लेख्न मिले पनि कत्ति नै सजिला छन् र ? अब कुरा आयो युनिकोडको, धेरै जसोको लागि त अब त्यो कहाँ बाट ल्याउने र कसरि लेख्ने ठूलो झन्झट, बरु रोमनमा लेख्यो ढुक्कै! अनि अर्को जटिल समस्या, भाषागत शुद्दता । मिठो नेपाली बोल्न जानेको छु भन्दैमा त्यसलाई लेखाइमा उतार्न नसकिने, कहिले काही त ह्रस्व-दीर्घले गर्दा अर्थ नै अर्कै भइदिने । जे होस् आजकल फेसबुक खोल्यो भने हाम्रै नेपाल सरकारले हामी नेपालीकै लागि भनेर बनाइदिएको साइट हो की जस्तो अनुभव हुन्छ, आफ्नै मातृ भाषा र वरिपरी सबै आफ्नै दाजुभाईहरु, कस्तो रमाईलो ।
साँच्ची भन्या हो, गफ हान्या होइन है ! राम्रोसँग ह्रस्व-दीर्घ नआए पनि मलाइ त नेपली मै स्ट्याटस अपडेट र कमेन्ट गर्नु मनपर्छ, तपाइँलाई नि?

No comments:
Post a Comment